दाङ, ५ फागुन । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओली दाङ पुगेर मतदाताको अपमान गरेको बताउनु भएको छ । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिङ्गो मतदाताप्रति अपमान गरेको बताउनु भएको हो ।

दाङ क्षेत्र नं. २ बाटै निर्वाचित पूर्वमन्त्री शर्माले प्रधानमन्त्री ओलीले पोखरेलले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गर्नुभयो । कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिँदै पूर्वमन्त्री शर्माले शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेद प्रकट गर्नुभयो । २०७४ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै सहारामा चुुनाव जितेको प्रधानमन्त्री ओलीले भुल्न नहुने पनि पूर्वमन्त्री शर्माले बताउनुभयो ।

प्रतिनिधिसभामा दाङ क्षेत्र नं. २ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेलले माओवादी केन्द्रको सहयोगबिना चुुनाव जित्नै नसक्ने धारणा व्यक्त गर्नुभयो । एमालेले विकास गर्ने नाममा जनतालाई ढाँटेर कमिशन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण फोरलेन बन्न नसकेको प्रतिक्रिया दिनुभयो । स्वयम् आफू र नेपाली काग्रेसका लुम्बिनी प्रदेशका सांसद राजु खनाल, प्रचण्डविक्रम न्यौपानेले ठेकेदारसँग अदालत नजाने सहमति गरेपछि मात्रै फोरलेन सडक निर्माणको काम थालिएको बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकारले घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको प्रक्रिया थालेको भन्दै त्यसको जस एमालेले लिन खोजेको बताउनुभयो ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित हुनुुभएको थियो । उहाँलाई माओवादी केन्द्रकी रेखा शर्माले हराउनु भएको थियो । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले पोखरेललाई १ सय ३ मतले हराउनुभएको थियो । शर्माले २६ हजार ८ सय ८ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको थियो ।

+2

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *