दाङ देउखुरी होटल व्यवसायी समिति, घोराहीको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले ईश्वरकुमार बुढाको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार समितिको कार्यालयमा सम्पन्न साधारणसभा तथा अधिवेशनले बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा खर्कसिंक पुन मगर, द्वितीय उपाध्यक्षमा वुद्धिप्रकाश शर्मा सचिवमा श्यामकुमार बिक, सांस्कृतिक सचिवमा शेरबहादुर पुन मगर र कोषाध्यक्षमा कृष्णबहादुर बिक चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा लंकबहादुर बुढा, चन्द्रबहादुर पुन, धना जिसी, सुशील गिरी, शेरबहादुर डाँगी, आशाकिरण पाण्डे, निरज गिरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा हिमानी डिसी, श्रीधर योगी र रनिश बुढालाई मनोनित गरिएको छ ।
२३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाट्न सत्र
दाङ देउखुरी होटल व्यवसायी समिति, घोराहीको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष दीपेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि डिसीले बदलिँदो परिवेशमा होटल व्यवसायको प्रवद्र्धन गर्न, स्थानीय पर्यटकीय, धार्मिक सम्पदाको प्रचार प्रसारमा सघाउने गरी जिम्मेवारीपूर्वक काम गर्न अपिल गर्नुभयो । सेवा क्षेत्र भएकाले सेवामा विश्वसनीयता कायम राख्न उहाँको आग्रह थियो ।
घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाले आफुले गरिरहेको पेशा सम्मानित बनाउँदै थप व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले भोजन, आवास, हस्पिटालिटीले मात्रै नपुग्ने भन्दै अबका दिनमा होटल व्यवसायलाई बहुआयामिक सेवाका रुपमा बिस्तार गर्नुपर्ने बताउनुभयो ।
समितिका सल्लाहकार ओविन्द्र महराले होटल व्यवसायीको हक हितमा साझा धारणा बनाएर एक हुनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, लुम्बिनी प्रदेश होटल महासंघका पर्यटन उपाध्यक्ष द्रोर्ण आचार्य, लमही होटल व्यवसायी समिति लमहीका निवर्तमान अध्यक्ष हेमन्त पाण्डे, राप्ती अञ्चल लिकर्श एशोसियन दाङका अध्यक्ष विश्व पौडेललगायतले होटलमा आउने पाहुनालाई गरिने व्यवहारबाट जिल्लाको अवस्था उजागर हुने हुँदा सेवा प्रवाहमा ध्यान दिन अपिल गर्नुभयो ।
समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव टीकाराम भुसालले गर्नुभएको थियो । कार्यक्रममा आजिवन सदस्यहरु तथा अन्य अग्रजहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।