बालाराम शेर्पाली
रुकुमपूर्व । २०७२ को संविधान जारी भई देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भए संगै साविक रुकुम जिल्ला – रुकुम पश्चिम र रुकुमपूर्व गरी दुई जिल्ला मा विभक्त भयो र रुकुमपूर्वले नयाँ जिल्लाको रुपमा पहिचान पायो।२०७४ असोज १९ गते सिस्ने गाउँपालिका – ५ र ६ रुकुमकोटमा अस्थायी सदरमुकाम रहने भन्दै जिल्ला स्तरमा हुने कार्यालय उद्घाटन गरेर रुकुमकोटबाटै प्रशासनिक सेवा प्रवाह भइरहेको थियो।
तर शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका –१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो।सरकारको उक्त निर्णयको विपक्षमा सर्वोच्च अदालतमा रिट दायर भयो।उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा करिब छ वर्ष बिचाराधीन रहयो।२०८० भदौ २७ गते संवैधानिक इजलासले सरकारले गरेको निर्णय बदर गर्दै सदरमुकाम तोक्नको लागि विभिन्न आधार र मापदण्डहरु ब्याख्या गर्दै फैसला गरेको अवस्था थियो।यँही क्रममा जिल्ला समन्वय समिति रुकुमपूर्वको नाममा रहेको जग्गामा एकीकृत सरकारी भवन निर्माण भैरहेको थियो।तर सदरमुकामको टुगों नलागि सकेको अवस्थामा रुकुमकोट कै अनुकुलतामा पूर्वाधार विकासका कार्यहरु हुँदै गरेको ब्यहोरा जनाउदै उक्त निर्माण कार्य रोक्न सर्वोच्च अदालतमा अर्को रिट दायर भयो।तत्पश्चात् २०८१ मंसिर १६ गते अदालतले स्थायी सदरमुकाम नतोकिए सम्म निर्माण कार्य रोक्न आदेश दियो।

हाल जिल्लाको सदरमुकाम विवाद अत्यन्तै जटिल बन्दै गईराखेको छ र सदरमुकामको विषयले जिल्लाको मनोविज्ञान विभाजित हुँदै अत्यास लाग्दो परिस्थिति सिर्जना गरि रहेको छ।अर्को तर्फ जिल्लाको विकास निर्माणका कार्यहरु अलपत्र परेका छन् भने प्रशासनिक काम कार्वाही र सेवा प्रर्वाह पनि प्रभावित छ।
यस विषयले खडा गरेको अन्यौलपूर्ण स्थिति , अनिर्णित समय र निरन्तर द्धन्द्धको अवस्थामा भूमे गाउँपालिकाले लामो समयको मौनतालाई तोड्दै द्धन्द्ध व्यबस्थापनको लागि सदरमुकामको विकल्पको खोजी गर्ने निर्णय गरेको छ।आईतबार गाउँपालिकाको सभाहलमा बसेको ११ औं कार्यपालिकाको बैठकमा गाउँपालिकाका प्रवक्ता तथा २ नं. वडाका वडाध्यक्ष नारायण पुन, १ का अध्यक्ष मनकाजी पुन, ३ का अध्यक्ष प्रशुराम बुढामगरले लिखित निवेदन तथा वडा नं. ६ वडाध्यक्ष बिक्रम पुन र ७ का अध्यक्ष संगम रोकामगरले मौखिक प्रस्ताव गरि सदरमुकामको विषय भूमेली समुदाय र नागरिकको पनि सरोकार र अधिकारको विषय भएकोले भूमे गाउँपालिकाले आफ्नो भूगोलमा सदरमुकाम स्थापना गर्न पहल गर्नु पर्ने विषय राख्नु भएको थियो।छलफल पश्चात् प्रस्तावको पक्षमा सर्वसमत निर्णय कुरा गाउँपालिकाका प्रवक्ता पुनले जानकारी दिनुभयो।
भूमे गाउँपालिका अध्यक्ष श्री होमप्रकाश श्रेष्ठले सदरमुकामको विवादमा द्धन्द्धरत दुई पक्षहरु सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको बीचमा मध्यस्थताको भूमिका खेल्दै दुवैको मिलन बिन्दु भूमे गाउँपालिका हुन सक्ने कुरा यस पंक्तिकारलाई जानकारी दिनुभयो।भूमेको उपयुक्त स्थानमा सदरमुकाम स्थापनाको पहल कदमी लिनु पर्छ भनि गरिएको कार्यापालिकाको निर्णयले सदरमुकाम हाम्रो भूमेको पनि हो र हामीले पनि सरोकार राख्नु पर्छ भन्ने जबरजस्त रुपमा उठिरहेको मनोविज्ञानलाई समेत प्रतिनिधत्व गर्छ भन्ने कुरा पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो।